७ बैशाख २०८१, शुक्रबार

एक सातासम्म खाद्य स्वच्छता दिवस मनाइँदै

प्रकाशित मिति :  1 June, 2023 4:34 pm


काठमाडौँ । “खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ” नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सप्ताहव्यापी विश्व खाद्य दिवस २०२३ मनाउने भएको छ ।

खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई सबै सरोकारवाला माझ पु(याउने उद्देश्यका साथ विभागले विगत १५ वर्ष देखि लगातार खाद्य स्वच्छता दिवस मनाउँदै आएको र यसपटकपनि जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रूपमा दिवस मनाउने विभागले जनाएको छ ।

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१८ डिसेम्बर २० मा पारित भए पश्चात हरेक वर्ष जुन ७ मा ‘विश्व खाद्य स्वच्छता दिवस’ विश्वभरी मनाइने गरिन्छ।

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार विभागले विगत देखि नै आम उपभोक्ताको स्वास्थ्य तथा सुविधालाई प्रमुख लक्ष्यको रुपमा लिई खाद्य पदार्थहरूको मापदण्ड निर्धारण गर्ने र सोही मापदण्डहरूको आधारमा खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरू, आयात विन्दु र खाद्य बजार तथा विक्रिबितरण स्थलहरूमा निरन्तर रूपमा अनुगमन निरीक्षण गरि नियमन एवं कारबाहीका कार्यहरू गर्दै आएको छ ।

स्वस्थ तथा सबल जनशक्ति राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार स्तम्भ भएकाले समग्र देश विकासका लागि समेत स्वच्छ र सन्तुलित खानपानलाई महत्व दिनु यस सप्ताहको उद्देश्य रहेको विभागले जनाएकाे छ । यस अवधिका विभाग र मातहतका कार्यालयबाट होटल, रेस्टुरेन्ट अनुगमन निरीक्षण एवं स्तरीकृत गरी लोगो वितरण गरिनेछ ।

विभागले खाद्य स्वच्छतासँग सम्बन्धित सरोकारवालाहरू सरकारी निकाय, गैर सरकारी सङ्घसंस्था, शिक्षण सङ्घसंस्था, एवं उपभोक्ता हकहितसँग सम्बन्धी संघसस्थाहरू लगायतको सहभागितामा विश्व खाद्य स्वच्छता दिवस, ७ जुन २०२२ का दिन बिहान प्रभातफेरि कार्यक्रम गरी सोही दिन दिउँसो मूल समारोह कार्यक्रम सञ्चालन गर्ने र खाद्य स्वच्छताका आधारमा छनौट भएका उत्कृष्ट खाद्य उद्योगहरूलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !