१५ बैशाख २०८१, शनिबार

नागरिकता विधेयकको विरोधमा अखिल नेपाल किसान महासंघद्धारा राँके जुलुस प्रदर्शन

प्रकाशित मिति :  2 June, 2023 9:14 pm


काठमाडौँ । वर्तमान सरकार विरुद्ध अखिल नेपाल किसान महासंंघले राँके जुलुस निकालेको छ ।

महासंघले सरकारले पास गरेको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्‍याउने भन्दै जुलुस निकालेको हो ।

नागरिकता भनेको कागजको खोस्टो मात्र नभएर देशको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको भन्दै महासंघका महासचिव बाबुराम थापाले सत्ता र स्वार्थ पूर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरूलाई जनताले दण्ड दिनुपर्ने बताए ।

थापाले भारतले नेपालको लुम्बिनी, कपिलवस्तु लगायतका केही ऐतिहासिक भूमि ‘अखण्ड भारत’ नामको नक्सामा समावेश गरी आफ्नाे नयाँ संसद भवनमा राख्दा पनि भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे कुरा नउठाएको भन्दै विरोध जनाएका बताए ।

महासंघले प्रधानमन्त्री प्रचण्डलाई सरकार छोड्न माग गर्दै प्रदर्शन गरेका हुन् । सरकारले गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरुद्ध भोलि पनि महासंघले ७७ वटा जिल्लामा नै विभिन्न किसिमको विरोध गर्ने महासंघले जनाएको छ ।

राँके जुलुसमा महासंघले प्रचण्ड सरकार मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, प्रचण्ड तेरो पाराले दुख पाए साराले, नेपाली भूमि माथिको अतिक्रमण बन्द गर, जस्ता नारा लगाएका थिए ।

महासंघले बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।



प्रतिक्रिया दिनुहोस !