प्रधानमन्त्रीलाई नेपालको कुनैपनि भूमि विदेशी भूमिसँग साट्ने अधिकार छैन : सांसद भट्टराई
काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्रीलाई नेपालको कुनैपनि भूमि विदेशी भूमिसँग साट्ने अधिकार नभएको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा आज आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलेको बंगलादेशसँगको बाटो नेपालले १९९७ मै पाइसकेको उल्लेख गरे ।
नेपालले कुनै जग्गा सट्टाभर्ना गर्ने शर्तमा प्रधानमन्त्रीले आफ्नो राष्ट्रियता बन्धक राख्न नमिल्ने भन्दै भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सिमा समस्या समाधान, इपिजी प्रतिवेदन, सार्कको सम्मेलनको सम्बन्धमा कुनै कुराकानी नभएको भन्दै विरोध जनाए ।
उनले भने,“कालापानी, लिपुलेक, लिम्पियाधुरा, कुनै पनि शर्तमा नेपालको संविधानले हाम्रो प्रधानमन्त्रीलाई नेपालको भूमी अरु कुनै विदेशीहरुलाई दिने हक हाम्रो प्रधानमन्त्रीलाई दिएको छैन । उहाँले के आधारमा बंगलादेशको बाटोको कुरा गर्नुभयो ? १९९७ मा आइके गुजराल आएको बेलामै त्यो बाटो हामीले पाएका छौँ ।”
सांसद भट्टराईले प्रदीप ज्ञवाली र जयशंकरको बिचमा भएको स्टेटमेन्टले सीमा समस्या हल गर्ने ज्वाइन्ट कमिशनबाट हल गर्ने भनेको स्मरण गराए । उनले भने,“यो कुनै नयाँ कुरा होइन ।
हामी कुनै जग्गा सट्टाभर्ना गर्ने शर्तमा हाम्रो राष्ट्रियता बन्धक राख्न सक्दैनौँ । बेच्न सक्दैनौँ । नेपाल सबै छिमेकी देशहरुसँग मैत्रीपूर्ण सम्बन्ध राख्छ । तर लम्पसारवाद यदी आउँछ भने जुनसुकै लम्पसारवादका बिरुद्ध पनि नेकपा(एमाले) उभिन्छ । यो प्रतिनिधि सभा उभिनुपर्छ ।”
राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता सम्बन्धि विधेयक निस्क्रिय भइसकेकाले ब्युँझाउन नमिल्ने भट्टराईको भनाई थियो ।
उनले अघिल्लो प्रतिनिधि सभाको समय सकिइसकेपछि विधेयक स्वतः निस्क्रिय हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै मृत भइसकेको विधेयकलाई ब्युझाउने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नभएको बताए ।
उनले भने,“धारा ६१ र ६६ मा विधेयक प्रमाणिकरण गर्ने अधिकार कहाँ छ ? विधेयकको सम्बन्धमा हाम्रो संविधानको धारा ११०, १११, ११३, ११४ ले अध्यादेश बन्छ । ११०, १११, ११३ ले विधेयक प्रमाणिकरण गर्ने कुरा छ । दिउँसै ढाट्ने ? संसदलाई दिउँसै ढाट्ने ? नेपाली जनतालाई दिउँसै ढाट्ने ?”
सांसद भट्टराईले प्रधानमन्त्रीसँग मृत विधेयकलाई ब्युताउने अधिकार भए द्वन्दकालमा मारिएका १७ हजार मान्छेहरू ब्युताउन चुनौति दिए ।








