१६ चैत्र २०८०, शुक्रबार

पर्यटनमन्त्री किराँतीले खुलाए प्रधानमन्त्रीसँग भारत भ्रमणमा नजानुको कारण

प्रकाशित मिति :  6 June, 2023 3:36 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले दुई देशबीचमा उपलब्धीजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे प्रतिपक्षी दलले प्रश्न उठाइरहेका बेला मन्त्री किराँतीले नै दुई देशबीचमा उपलब्धीजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका हुन् ।

काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्न हेतु आयोजना भएको कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री किराँतीले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमुलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए ।

उनले ओखलढुंगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताए ।

उनले भने,“ हेलिकप्टर को चढिएन ? भयो के ? यतिसम्म भयो की ठूला व्यापारी धनाढ्य घरानाकोले त उडाउने नै भयो । कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने । ७० वटा जति देशबाट त निमन्त्रणा नै आयो । भ्रमण पनि जान्न भन्दिएँ ।”

आफूले निम्ता आए पनि हेलिकप्टर पनि नचढ्ने दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने बताए ।

मन्त्री किराँतीले भने,“त्यसैले यसपालि इण्डिया पनि नगएको । खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्दथ्यो नि त तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने ? ठूलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले ।”

कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीको जुहारीले कुनैपनि जिल्लाको विकास कम हुनु नहुने बताए ।

उनले ओखलढुंगाको विकासका लागि आफूले अर्थमन्त्री र पर्यटनमन्त्रीसँग बारम्बार अनुराेध गरेपनि एकले अर्कोलाई दोष दिएर पन्छिएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !