१३ बैशाख २०८१, बिहिबार

खाद्य र पोषण शिक्षाका बारेमा सचेतना मन्त्रालयकाे प्राथमिकतामा छः मन्त्री भुसाल

प्रकाशित मिति :  7 June, 2023 3:25 pm


काठमाडौँ । कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. वेदुराम भुसालले सबै जनतामाझ स्वच्छ खाद्यको पहुँच पुर्याउनु अहिलेको आवश्यक रहेको बताएका छन् ।

बुधबार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले खाद्यान्न स्वच्छ र सफा हुनुपर्छ भन्ने कुरा निश्चित सीमाभित्र मात्रै रहेको र व्यापक रूपमा यसको विस्तार गरेर सबै जनतामाझ पुर्याउन आवश्यक रहेको बताएका हुन् ।

उनले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरू गर्न जरुरी रहेको बताएका छन् । मन्त्री भुसालले भने, “त्यसकारण हामीले खाद्य शिक्षाको बारेमा, पोषण शिक्षाको बारेमा एउटा नयाँ अभियान चलाउनुपर्ने जरुरी छ ।”

भुसालले खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा सचेतना अभियानका मन्त्रालयले रकम छुट्टाएर काम गर्ने पनि प्रतिबद्धता जनाए । उनले खाद्य स्वच्छता सम्बन्धी विधेयक गत वर्ष नै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा अड्किएको र आफूले संसदमा प्रस्तुत गर्न सभामुखसँग आग्रह गरिसकेकाले अब चाँडै नै खाद्य स्वच्छता सम्बन्धी विधेयक संसदमा आउने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा। मतिना जोशी वैद्यले खाद्य पर्दाथको मापदण्ड अति आवश्यक रहेको बताएकी छन् । खाद्य पर्दाथको मापदण्डका मानव जीवन रक्षासँग जोडिएको चर्चा गर्दै उनले भनिन, “केही समय अघि हामीले सडक किनारमा बेचिने खाद्य बस्तु (स्ट्रिट फुड) को प्याकिङमा कडाइ गर्ने भनिएको छ । स्ट्रिट फुडसहित अन्य खानेकुरा प्याकिङमा प्रिन्टेड पेपरको प्रयोगमा प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरेका छाैँ ।”

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१८ डिसेम्बर २० मा पारित भए पश्चात हरेक वर्ष जुन ७ मा ‘विश्व खाद्य स्वच्छता दिवस’ विश्वभरी मनाउने गरिन्छ। नेपालमा विभागले विगत १५ वर्ष देखि लगातार खाद्य स्वच्छता दिवस मनाउदै आएको छ। यो वर्ष विश्वभर फुड स्ट्यान्डर्ड सेभ लाइफ नाराका साथ र नेपालमा “खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ” भन्ने नाराका साथ सप्ताहव्यापी रूपमा गत जेठ जेठ १८ देखि सप्ताहव्यापी कार्यक्रम मनाएको हाे।

बुधवार बिहान ७ः३० देखि काठमाडौँ बबरमहलस्थित विभागको प्राङ्गणदेखि काठमाडौँ जिल्ला अदालत, माइतीघर मण्डला, भद्रकाली मन्दिर, प्रदर्शनी मार्गसम्म प्रभातभेरी सकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्री बेदूराम भुसालको प्रमुत आतिथ्यमा ९ः३० देखि राष्ट्रिय सभागृह मुल कार्यक्रम मनाएको हो । देशभरका विभाग मातहतका कार्यालय र खाद्य स्वच्छतासँग सरोकार राख्ने निकायहरूले पनि छुट्टाछुट्टै विविध कार्यक्रम आयोजना गरेर दिवस मनाएका छन्।



प्रतिक्रिया दिनुहोस !