१३ बैशाख २०८१, बिहिबार

संसदमा अमर्यादित बहस भएको भन्दै रबि लामिछानेले माफी मागे

प्रकाशित मिति :  8 June, 2023 3:34 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताए ।

उनले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताए । उनले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको बताए ।

सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताए ।

उनले भने,“हामीले पार्लियामेन्टको डिग्निटी राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौँ ? यसबारेमा अलिकति ध्यानाकर्षण गराउन चाहन्छु । जस्ता जस्ता विषयहरुमा हामीले छलफल गर्‍याैँ हामी नयाँ राजनीतिक दलका हिसाबमा । चाहे ति हाम्रा पक्षबाट आएका हुन् या अन्य राजनीतिक दलबाट आएका विषयहरु हुन् । हामी कहीँ न कहीँ लज्जित भएका छौँ ।”

नयाँ राजनीतिक दलका रुपमा आफूहरू एउटा नयाँ अभ्यास लिएर आएको भन्दै लामिछानेले बजेटमा कुराकानी गरिरहँदा, राष्ट्रका महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम सर्वसाधारणमा संसदबाट राम्रो सन्देश नगएको बताए ।

उनले भने,“यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर यदी पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हामी आत्मआलोचना गर्न चाहन्छौँ । हाम्रा दलबाट पनि भएका कमी, कमजोरीलाई आत्मआलोचना गर्न चाहन्छौँ ।”

सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गरे ।

उनले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गरे । उनले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरू बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गरे ।



प्रतिक्रिया दिनुहोस !