८ पुस २०८२, मंगलबार

बजेट अभावका कारण काम गर्न सकिएन : राष्ट्रिय समावेशी आयोग

प्रकाशित मिति :  13 June, 2023 6:00 pm


काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले बजेट अभावका कारण काम गर्न नसकेको बताएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा बोल्दै आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बजेट अभावका कारण कार्यक्षेत्र भित्रका कामहरु पनि गर्न नसकिएको बताएकी हुन् ।

उनले कार्यक्षेत्रका आधारमा सरकारले बजेट छुट्टयाउनुपर्ने भएपनि त्यसो नगरेको गुनासो गरिन् । कार्यवाहक अध्यक्ष ओझाले बजेट अभाव हुनु आयोगको सबैभन्दा ठूलो चुनौति रहेको उल्लेख गरिन् ।

बजेट अभावका कारण विज्ञ समूह पनि राख्न नसकेको उनको भनाई थियो ।

उनले भनिन्,“ ११ वटा क्षेत्रमा काम गर्ने एउटा आयोग र एउटा मात्रै जात विशेषको काम गर्ने आयोग बराबर हुन्छ त ? हुँदैन होला । काम त धेरै छ यसको । यसको आधारमा छुट्टयाउनुपर्ने । थाहा छैन सरकारलाई के हो कुन्नि ?”

थारु आयोगका सचिव कृष्णकान्त उपाध्यायले थारु समुदायका लागि संविधानले दिएको मौलिक हक समेत कार्यान्वयन हुन नसकेको बताए ।

उनले आयोगले थारु समुदायको हक, हितका निम्ति सरकारलाई गरेको दर्जनौँ सिफारिसहरू पनि कार्यान्वयन नभएको बताए ।

उनले भने,“आदिबासी जनजाति, थारु समुदायको राज्यको हरेक निकायमा समानुपातिक, समावेशि सिद्धान्त अनुसार प्रतिनिधित्व हुने संविधान अनुसार मौलिक हक भएकोमा हालसम्म कार्यान्वयन नभएको अवस्था छ ।

थारु समुदायले समुदायको हक हीतका निम्ति गरेको दर्जनौँ सिफारिस कार्यान्वयन नभएको अवस्था छ ।”



प्रतिक्रिया दिनुहोस !