शंकाको सुविधासहित मधेसमा एमालेको विश्वासको मत :योगेश भट्टराई
काठमाडाैँ । नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन् ।
एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुगेका एमाले सचिव भट्टराईले शंकाको सुविधाकै आधारामा एमालेले मधेस सरकारलाई विश्वासको मत दिएको बताएका हुन् । मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकांकमा सबैभन्दा पछाडी परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको बताए ।उनले प्रदेशको विकासका लागि कोही पनि बिरोधी बन्र नहुने बताएका छन् ।
उनले भने, ‘मधेस प्रदेश आर्थिक, सामजिक रूपमा पछाडी परेको प्रदेश हो, यो प्रदेशको विकासमा हामी अवरोध बन्नु हुँदैन सोचेर नै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हौँ, यसमा हाम्रो कुनै राजनीतिक लेनदेन भएको होइन ।’
सचिव भट्टराईले नागरिकता समस्या समाधान गर्नका लागि फेरि नयाँ विधेयक नै ल्याउनुपर्ने स्पष्ट पारे । उनले जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताउँदै वर्तमान सरकारले प्रमाणीकरण गराएको विधेयकमा आफूहरूको केही विषयमा आपत्ति रहेको बताए ।
‘नागरिकतामा प्रादेशिक पहिचान खुल्नु पर्छ, वैवाहिक अंगिकृत नागरिकता पाउनका लागि केही समयावधि तोक्नै पर्ने हाम्रो स्पष्ट माग छ ।’ उनले भने ।
फरक प्रसंगमा भट्टराईले सरकारले केही व्यापारिक घरानाको ईशारामा बजेट ल्याइएको आरोप लगाए । केही पुँजीपतिहरूलाई फाइदा पु¥याउनकै लागि राजश्व र करको दायरामा हेरफेर गरिएको भट्टराईको आरोप थियो ।








