८ पुस २०८२, मंगलबार

प्रचण्डलाई कांग्रेस सांसद घिमिरेको चेतावनी-प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्नुस्

प्रकाशित मिति :  16 June, 2023 3:04 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरूको पनि भुमिका रहेको भन्दै सो भुमिकाको अवमूल्यन नगर्न चेतावनी दिएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले प्रधानमनत्री दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरूले दिएको मतको ख्याल गर्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिएपनि हात लागि शुन्य भएको बताए ।

उनले पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिए । घिमिरेले काँग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्ता सांसदहरूको पनि भुमिका भएको भन्दै यसरी पार्टी जोगाउन नसकिने बताएका छन् । 
“मेरो नेताहरूलाई भन्न चाहान्छु के यसैका लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनभित्र हामी छिरेका थियौँ ? यसमा तपाईहरूको भुमिका हुनुपर्दैन ? काँग्रेस सबैभन्दा ठूलो पार्टी हुनुमा हाम्रो पनि त भुमिका होला नि । तर पार्टी पनि जोगाउने हो भने अब यसरी काम चल्दैन । एउटा सानो कुराका लागि मन्त्रालयमा मन्त्री, सचिव, सह–सचिव, अधिकृतका पछाडी कुद्दा कुद्दा सांसदको जुत्ताको तलुवा खिइन्छ । स्वाभिमान भन्ने कतै रहँदैन । तर हातालागि सुन्ना । अब अति भयो मेरा पार्टीका नेताहरू पनि बोल्ने कि नबोल्ने ?” उनले भने ।

उनले बजेट विनियोजनमा असमानता भएको भन्दै यस विषयमा पार्टीका नेताहरू बोल्ने कि नबोल्ने भन्ने प्रश्न गरे । 



प्रतिक्रिया दिनुहोस !