संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक ढंगले आएन : प्रमुख सचेतक पाण्डे
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक ढंगले नआएको टिप्पणी गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै पाण्डेले राष्ट्रका प्राथमिकतालाई चयन गरेर बजेट निर्माण गर्न आग्रह गरे ।
उनले यसरी बजेट विनियोजन हुने क्रम २०७२ सालदेखि नै हुने गरेको बताए । बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा आफूले कुरा गरिरहेको भन्दै बजेट बनाउने प्रक्रिया नमिलेको बताए ।
बजेट बनाउने प्रक्रियालाई सच्याउने उनको भनाई थियो । उनले भने,“यो बजेटलाई हेर्दा संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक ढंगले आएको छैन । तर यो अहिलेको आर्थिक वर्षको मात्रै कुरा होइन, यो २०७२ सालदेखिको हो । हामीले राष्ट्रका प्राथमिकतातर्फ फर्किनुपर्छ । हामी बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा कुरा उठाइरहेका छौँ ।”
प्रमुख सचेतक पाण्डेले बजेटमा आएका वस्तुहरूलाई कार्यान्वयन गर्न दृढताकासाथ लाग्नुपर्नेमा जोड दिए ।








