८ बैशाख २०८१, शनिबार

कोरोना रोकथाम तथा नियन्त्रणका लागि राप्रपाद्धारा सर्वदलीय संयन्त्र गठनको प्रस्ताव

प्रकाशित मिति :  19 April, 2020 2:23 pm


काठमाण्डौं, ७ वैशाख ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै तहमा सर्वदलीय संयन्त्र गठनको प्रस्ताव गरेको छ ।

पार्टी अध्यक्ष पशुपति शमशेर राणा,डा.प्रकाशचन्द लोहनी र अध्यक्ष कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको कार्यबारे सबैलाई जानकारी दिन भन्दै सर्वदलीय संयन्त्र गठनको प्रस्ताव गरेको हो ।

राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘समस्याको संवेदनशीलता र गंभीरता दृष्टिगत गर्दै तथा विगतका परम्परा र अनुभवनलाई समेत विचार गरि सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको कार्यबारे सबैलाई जानकारी दिन सबै तहमा सर्वदलीय संयन्त्र गठन गर्नु उपयुक्त हुने राप्रपाको सुझाव रहेको छ ।’

केन्द्रमा रहने संयन्त्रण्को संयोजकत्व स्वयं प्रधानमन्त्रीले लिनु उपयुक्त हुने राप्रपाको ठहर   छ ।

हिजो मात्रै नेपाली कांग्रेसले राहत वितरणमा पक्षपात भएको भन्दै स्थानीय तहमा सर्वदलीय अनुगमनको प्रस्ताव राखेको थियो ।

यसअघि नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरिसकेका छन् ।

तर, पछिल्लो समय अन्य दलले समेत सर्वदलीय संयन्त्रको आवाज उठाउन थालेका छन् ।

राप्रपाले सरकारले चालेको र चाल्ने कदममा राप्रपाको सधै सकारात्मक धारणा रहने पनि स्पष्ट पारेको छ ।

राप्रपाले कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा गम्भीर मन्दी देखा पर्न थालेको भन्दै नेपालमा यसको प्रभावलाई न्युनिकरण गर्न प्रभावकारी आर्थिक नीति र योजनाको आवश्यकता पर्ने समेत स्मरण गराएको छ ।

राप्रपाले भनेको छ,‘यसबारे पछि सोचौंला भन्ने मानसिकताबाट मुक्त भै अहिले नै उपयुक्त वित्तीय र मौद्रिक कार्ययोजना तयार गर्न राप्रपा सरकारसँग आग्रह गर्दछ ।’

राप्रपाले लकडाउनका बेला निर्णयहरु कार्यान्वयन गर्ने क्रममा सरकारी संयन्त्र सहिष्णु र संवेदनशील रहनु जरुरी रहेको बताएको छ ।

उसले भनेको छ,‘महामारीको अग्रिम पंक्तिमा रहेर काम गर्ने चिकित्सक र कतिपय स्थानमा सर्वसाधारण माथि ज्यादती भएको देखिएको छ । यस्ता कार्य दोहोरिन नदिन राप्रपा सरकारसँग आग्रह गर्दछ ।’

राप्रपाले जागिरबाट निकालिएका,सम्बन्धित सरकार र रोजगारदाताले जिम्मेवारी नलिएका र अलपत्र परेका नेपाली नागरिकहरुलाई विमान चार्टर गरेर भएपनि स्वदेश फकाउने तथा अनविार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

राप्रपाले सिमा नाका बन्द यथावत राख्न आग्रह गरेको छ ।

उसले विज्ञप्तिमा भनेको छ,‘ कोरोना प्रकोप अन्त्य नभएसम्म समान ढुवानी निमित्त बाहेक भारत र चीनसँगको सिमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यवसायिक अन्तराष्ट्रिय उडान बन्द गर्न राप्रपा सरकारको ध्याकर्षण गर्दछ ।’

 



प्रतिक्रिया दिनुहोस !