लिपुलेक, लिम्पियाधुरा, कालापानीको लागि बजेट नछुट्याउनुले सरकारप्रति शंका उब्जियोः सांसद शर्मा
काठमाडाैँ । नेकपा(एमाले)की सांसद दीपा शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि सरकारले बजेट नछुट्याउनुले शंका उब्जाएको बताएकी छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीको विकास र सिमा संरक्षण गर्न सरकारले बजेट नछुट्याउनुले शंका उब्जिएको बताएकी हुन् । उनले सो क्षेत्रका नागरिकहरूको जनगणना किन गरिएन भन्ने प्रश्न समेत गरेकी थिइन् ।
उनले भारतमा ग्रेटर भारताको नक्शामा नेपाली भूमि समेटिएको विषयमा सरकार बोल्नुपर्ने बताउँदै भारत सरकारलाई पत्र पठाएर सो नक्शा खारेज गर्न लगाउनुपर्ने माग गरेकी छन् ।
उनले भनिन्, “भारतको ग्रेटर नक्शामा नेपालको भूमि समेटिएको विषयमा सरकार किन नबोलेको हो, तुरुन्तै सरकारले यो विषयमा बोल्नुपर्छ । पत्राचार गरेर त्यो खारेज गर्न लगाउनुपर्छ अविलम्ब । यो म सरकारलाई जोडदार माग गर्न चाहन्छु । लिपुलेक, लिम्पियाधुरा, कालापानीको विकास र सिमा संरक्षण गर्न सरकारले किन बजेट छुट्टयाएको छैन ? त्यहाँका नागरिकको किन जनगणना गरिएन ? यसमा आम नागरिक माथि शंका उब्जिएको छ ।”
उनले एमसीसी परियोजना कार्यान्वयनका लागि सरकारको तयारीको सम्बन्धमा पनि प्रश्न गरेकी छन् । उनले परराष्ट्र मन्त्रालयमा विनियोजित बजेट कम भएको बताउँदै विनियोजित बजेटले कुटनीतिक मर्यादालाई व्यवस्थित गर्न नसक्ने बताइन् ।








