सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्योः उपप्राध्यापक चलाउने
काठमाडाैँ । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयबिरुद्ध धर्ना दिन जिल्ला अदालत काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार अदालतभित्र होहल्ला र नारा जुलुस गरेको भन्दै प्रहरीले चलाउनेलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि उनले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको बताएका हुन् ।
उनले देशमा न्याय मरेको र मानवता हराएको बताउँदै आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गरे । उनले आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय गरेपछिको आफूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए ।
चलाउनेले आफूलाई न्याय दिनुको साटो सरकारले अदालतलाई बाइपास गरेर सुनुवाई हुनुभन्दा दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिनु उचित नभएको बताए । उनले अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिनु राजनीतिको अपराधीकरण भएको बताएका छन् ।








