नक्साबारे बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन
काठमाडौँ । परराष्ट्रमन्त्री नरायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारत सम्बन्धी नक्सा वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको जानकारी गराएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरू पनि समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको बताए ।
उनले भने,“नेपाल सरकारले भारतको नवनिर्मित संसद भवनमा राखिएको अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पाउनुहुन नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन गरिसकेको कुरा समितिलाई स्पष्ट जानकारी गराउन चाहन्छु ।”
सरकार नेपालको नक्सा बारेमा स्पष्ट रहेको परराष्ट्रमन्त्रीको भनाई थियो ।
उनले नेपालको नक्सा के हो भन्ने कुरा २०७७ असार ४ गते संविधानमा दोस्रो संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्सा समेटेर संविधानको अनुसूची ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएको तथ्य सबैमा जानकारी रहेको उल्लेख गरे ।
उनले अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारिक धारणा भारतका विदेशमन्त्रीबाट आएको बताए ।
परराष्ट्रमन्त्री साउदले भने,“सरकार नेपालको नक्शाको बारेमा स्पष्ट छ । नेपालको नक्सा के हो भन्ने कुरा २०७७ असार ४ गते संविधानमा नै दोस्रो पटक संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्शा समेटेर संविधानको अनुसूचि ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएको तथ्य सबैमा जानकारीमा छ ।”








