६ जेष्ठ २०८१, आइतबार

सरकारले विद्यालय कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्नुपर्छः देवेन्द्र पौडेल

प्रकाशित मिति :  23 June, 2023 2:33 pm


काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय कर्मचारीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन पनि विद्यालय कर्मचारी र शिक्षकहरुसँग विगतमा गरिएका सहमतीहरुको कार्यान्वयनमा सरकारले ढिलाई गर्न नहुने उनको तर्क थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले सरकारले दुईपटक आफैंले गरेको प्रतिवद्धताअनुसार विद्यालय कर्मचारीको समस्या समाधान नगरेको भन्दै आपत्ति समेत जनाए ।

विद्यालयका कर्मचारीहरूले लेखापाल र कार्यालयका सहयोगीको सेवा सुविधा खरदार सरह पुर्याउन माग गर्दै आइरहेका छन् । सांसद पौडेलले उनीहरुको सो माग सम्बोधन गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।

“यो सदनमा लगातार उठेको भनेको विद्यालय कर्मचारी व्यवस्थापनको विषय हो । गत साल पनि यो विषय उठ्यो सम्माननीय सभामुख महोदय । त्योभन्दा अघि शिक्षक महासंघसँग २०७८ सालमा ५१ बूँदे सहमति भएको थियो । त्यसैगरी २०७५ सालमा पनि शिक्षक महासंघसँग त्यसप्रकारका समस्याहरु समाधान गर्नका लागि सरकारको तर्फबाट प्रतिवद्धता गरिएको थियो ।” उनले भने, “सम्माननीय सभामुख महोदय, आजसम्म त्यसप्रकारका समस्याहरु हल नहुनु र विद्यालयका विषयमा, शैक्षिक सुधारका विषयमा सदनमा लगातार कुरा उठदै गर्दाखेरी शिक्षकका त्यस प्रकारका समस्याहरु हल नहुनु भनेको गम्भिर कुरा हो ।”

सांसद पौडेलले शिक्षक र त्यहाँ कार्यरत कर्मचारीको न्यूनतम माग पनि सम्बोधन सरकारले नगर्ने हो भने विद्यालय सुधार अभियान अगाढि बढनै नसक्ने समेत स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस !