४ जेष्ठ २०८१, शुक्रबार

विगतमा जस्ताे यो वर्ष मल अभाव हुन्र : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  23 June, 2023 2:41 pm


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न बिक्री डिपोहरूमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले २०७९ श्रावण महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको बताएका हुन् । उनले सो मध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरूमा मौज्दात रहेको बताए ।

त्यस्तै यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी मल ल्याइने र यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने उनले बताएका छन् ।

उनले भने, “सुरूमा रासायनिक मलका लागि रु. १५ अर्ब विनियोजन भएपनि थप रु. २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ । यसबाट सरकार किसानहरूका लागि रासायनिक मल उपलब्ध गराउन जिम्मेवार रहेको तथ्य प्रमाणित हुन्छ । मलको आयातमा संघीय मन्त्रालयलाई जिम्मेवार बनाइएको छ भने वितरण कार्यमा प्रदेश र स्थानीय तहहरूलाई परिचालन गरिएको छ । मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको कुरा पनि म जानकारी गराउन चाहन्छु ।”

प्रधानमन्त्री दाहालले मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली अपनाइएको बताए ।



प्रतिक्रिया दिनुहोस !