४ जेष्ठ २०८१, शुक्रबार
कृषिमा लगानी

कृषिमा प्रवाहित कर्जा रु.३ खर्ब भन्दा बढी पुग्यो

प्रकाशित मिति :  28 June, 2023 1:54 pm


काठमाडौँ । कृषिमा प्रवाहित कर्जा रु. ३ खर्ब भन्दा बढी पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको अर्ध–वार्षिक प्रतिवेदन (आ.व.२०७९÷८०) अनुसार २०७९ पुस मसान्तसम्म कृषिमा प्रवाहित कर्जा ३ खर्ब ४४ अर्ब ७६ करोड रुपैयाँ पुगेको हो ।

२०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा १४.३ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ४४ अर्ब ७६ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा २५.९ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी रु.८६ अर्ब ८७ करोड कर्जा अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा प्रवाह भएको छ भने सबैभन्दा कम सिँचाईमा रु.१६ करोड ४ लाख प्रवाह भएको देखिएको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशको अंश १६.८ प्रतिशत, मधेश प्रदेशको अंश १६.३ प्रतिशत, बागमती प्रदेशको अंश ३५.९ प्रतिशत छ ।

त्यस्तै गण्डकी प्रदेशको अंश ८.९ प्रतिशत, लुम्बिनी प्रदेशको अंश १५.३ प्रतिशत, कर्णाली प्रदेशको अंश १.६ प्रतिशत र सुदूर पश्चिम प्रदेशको अंश ५.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !