१६ चैत्र २०८२, सोमबार

संसदीय समितिको सभापति चयन गर्न तीन दलका शीर्ष नेताबीच सहमति

प्रकाशित मिति :  4 July, 2023 1:27 pm


काठमाडौं । तीन दलका शीर्ष नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग मंगलबार (आज) सिंहदरबारमा भएको छलफलमा संसदीय समितिको सभापति चयन गर्ने सहमति कानुनमन्त्री धनराज गुरुङले बताए ।

उनले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील र स्तरीय बनाउनेबारे पनि छलफल भएको बताए।

उनले भने, ‘लामो समयदेखि समितिको सभापति चयन हुन सकेको छैन। अब छिटोभन्दा छिटो चयन गर्ने भन्ने पूर्ण रूपमा सहमति भएको छ।’

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरू भएको थियो ।

तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !