४ जेष्ठ २०८१, शुक्रबार

चर्चित गायक तथा अभिनेता रविन तामाङको निधन

प्रकाशित मिति :  5 July, 2023 7:15 am


काठमाडौँ । नेपाली चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले जानकारी दिइन ।

अहिले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । रविन मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरभित्र कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

मंगलबार बेलुका ६ बजेतिर कोठाको ढोका बन्द भएको र भाइ भित्र रहेको भन्दै तामाङकी दिदी भगवती तामाङले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी घटनास्थलमा पुगी ढोका फोरेर हेर्दा उनी बेड छेउमा मृत भेटिएका थिए । घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएको प्रहरीले जनाएको छ ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । सिंगापुरमा जन्मिएका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए ।

उनले गाएका चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायतका गीतहरु हिट् छन् । छड्के, मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं फिल्महरूमा पनि उनले अभिनय गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !