१८ बैशाख २०८१, मंगलबार

नेपाली कांग्रेस लुम्बिनीद्वारा आगामी भदौमा प्रदेश सम्मेलन गर्ने निर्णय

प्रकाशित मिति :  5 July, 2023 12:37 pm


दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आगामी भदौमा प्रदेश सम्मेलन गर्ने भएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको भालुबाङमा बसेको बैठकले भदौको मसान्तसम्म प्रदेश सम्मेलन गर्ने तय गर्दै तयारी प्रारम्भ गर्ने निर्णय गरेको हो ।

सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवम सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।

केन्द्रमा नीति सम्मेलनको तयारी भइरहेका बेला लुम्बिनीले प्रदेश सम्मेलन गर्न लागेको हो । सम्मेलनमा केन्द्रलाई सहयोग पुग्ने गरेर विभिन्न नीतिगत विषयमा छलफल हुने छ ।

सम्मेलनमा लुम्बिनी प्रदेशका झण्डै १६ सय नेता कार्यकर्ता सहभागि हुने अनुमान छ । कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सराकारलाई थप सशक्त र जनमुखी बनाउनको लागि जनभावना अनुरुप कार्यक्रम निर्माण र परिचालन गर्नको लागि सरकार र पार्टीबिच समन्वयका साथ अगाडि बढ्ने पनि निर्णय भएको छ ।

नेपाली कांग्रेस लुम्बिनीले भातृ तथा शुभेच्छुक संस्थाहरूमा नियुक्तिका लागि सम्बन्धित तहका समिततिको सिफारिसमा मात्र गर्न पनि केन्द्रीय समितिलाई अपिल गरेको छ ।

प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई पार्टीको नीति र समयासमयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरेको नेपाली कांग्रेस लुम्बिनीले विभिन्न विभागहरूलाई पूर्णता दिँदै तल्लो तहसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !