७ पुस २०८२, सोमबार

राष्ट्रिय सभा बैठकमा एमालेले आजपनि माग्यो प्रधानमन्त्री राजीनामा

प्रकाशित मिति :  6 July, 2023 2:41 pm


काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । 

प्रधानमन्त्री दाहालले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो ।

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत गएकाे भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतामा आँच पुगेको एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताए ।

उनले भने ‘हिजोपनि हामीले आफ्नो पार्टीको आधिकारिक धारणा यस्तो व्यक्ति प्रधानमन्त्रीको रुपमा रहनको निम्ति यो खालको आचारण नगर्ने व्यक्ति प्रधानमन्त्रीको कुर्सिमा बस्न सुहाउँदैन । नैतिकताको आधारमा उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने नेकपा(एमाले)को संसदीय दलको धारणा हिजो हामीले सार्वजनिक गरिसकेका छौँ ।’

उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने भन्दै बैठक अवरोध गर्ने जानकारी राष्ट्रिय सभा अध्यक्षलाई दिए । 

‘सबैभन्दा ठुलो देश हो । देश भन्दा ठुलो केही पनि हुन सक्दैन ।’ उनले भने ‘हामी विनियोजन शिर्षकमा भएका जतिपनि कुराहरु छन् हामी सहभागि भएर कार्यक्रम बढेको थियो । देशको अनुकुल हुनेगरी बोल्नुपर्नेमा देशको अहीत हुनेगरी, सार्वभौमसत्ताको अपमान हुनेगरी, स्वाधिन राष्ट्रको अपमान हुनेगरी हाम्रो देशको प्रधानमन्त्री कुन देशबाट निर्देशित हुनुहुन्छ ? कसबाट परिचालित हुनुहुन्छ ? को बाट निर्देशित भएर चल्नुभएको छ ? यो हामीलाई दुःखको कुरा हो । यो सदनको कामलाई अगाडी नबढाइयोस् ।’

राष्ट्रिय सभा बैठक असार २२ गते शुक्रवार अपरान्ह १२ः२९ मा बस्नेगरी बोलाइएको छ । 



प्रतिक्रिया दिनुहोस !