४ जेष्ठ २०८१, शुक्रबार

प्रदेश ५ : विकास निर्माणको काम सुरु हुँदै

प्रकाशित मिति :  21 April, 2020 9:48 am


काठमाडौ, ९ वैशाख ।

लकडाउनका कारण बन्द रहेका प्रदेश ५ मा विकास निर्माणका काम सुरु भएका छन् । लकडाउनपछि रोकिएको नेपालगञ्ज–बघौडा सडक निर्माणको काम शुरु भएको छ ।

हुलाकी सडक योजना नेपालगञ्जअन्तर्गत रहेको नेपालगञ्ज–बघौडा सडकखण्डको सामाजिक दूरी कायम गर्ने गरी निर्माण कम्पनीले निर्माण शुरु गरेको हो ।

सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनले बन्दाबन्दीको नियम पूर्णरुपमा पालना गर्दै सीमित जनशक्तिको परिचालन गरी काम शुरु गरिएको हुलाकी सडक योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी रामसागर हरिजनले जानकारी दिए ।

उनका अनुसार सरकारले राष्ट्रिय गौरवका योजनाको काम अगाडि बढाउने निर्णय गरेपछि हुलाकी सडकको काम पनि निर्माण कम्पनीले बिहीबादेखि शुरु गरेको हो ।

मजदूरको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरी सामाजिक दूरी बनाएर निर्माणको काम शुरु गरिएको सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक तुल्सीराम भण्डारीले जानकारी दिए ।

नेपालगञ्ज–बघौडा ४४ किलोमिटर सडकमध्ये ३६ किमी कालोपत्रे भइसकेको बताउँदै उनले बन्दाबन्दी कारण रोकिएको काम तदारुकताका साथ अगाडि बढाउने गरी काम भइरहेको बताए।

अहिले निर्माण बाँकी रहेको नरैनापुर र कालाफाँटा क्षेत्रमा काम भइरहेको छ । बाँकी आठ किमीमध्ये चार किमी कालोपत्र लागि तयार भएको छ । थप चार किमी कालोपत्रको लागि तयारी भइहेको छ ।

कन्स्ट्रक्सनका फिल्ड व्यवस्थापक इन्द्र केसीले मजदूरलाई निश्चित दायराभित्र राखेर स्वास्थ्यावस्थामा प्रभाव नपर्ने गरी कामको व्यवस्था मिलाइएको बताए ।

सरकारले सडक निर्माणको काम सामाजिक दूरी कायम गरेर पुनःसञ्चाल गर्न आग्रह गरे पनि फिल्डमा सुरक्षाकर्मी सकारात्मक नभएपछि निर्माण कम्पनीलाई सोमबार जिल्ला प्रशासन कार्यालय र हुलाकी सडक योजना कार्यालय नेपालगञ्जबाट काम सञ्चालन अनुमतिको पत्र बनाइएको सूचना अधिकारी हरिजनले जानकारी दिए ।

हुलाकी सडक योजना कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको नेपालगञ्ज–बघौडा ४४, फत्तेपुर–बैजापुर २१ , दाङको लमही–कोइलाबास ३६, बर्दियाको बेलवा–राजापुर २६ र भुरीगाउँ–गुलरिया–मूर्तिया ३६ किमी लम्बाइको हुलाकी सडक निर्माण प्रक्रियामा छन् ।

प्यूठानमा विकास निर्माणका काम

प्यूठानमा महत्वपूर्ण विकासनिर्माण आयोजनाका काम सञ्चालन हुने भएको छ । कोभिड –१९ का कारण देश लकडाउनमा रहे पनि जिल्लाका महत्वपूर्ण आयोजनाका काम सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा समस्या नहुने गरी कामदारलाई व्यवस्थापन गरेर काम शुरु गर्न लागिएको हो ।

चालु आर्थिक वर्ष २०७६÷०७७ मा सक्नुपर्ने भालुबाङ –प्यूठान सडकअन्तर्गत दाङ र प्यूठान सिमानामा पर्ने प्युठानको गनाहा खोलादेखि माण्डवी गाउँपालिका-३ चकचकेसम्म सडक मर्मत, सरुमारानी गाउँपालिका दर्भानमा रहेको सुख्खा खोला पक्की पुल र ऐरावती गाउँपालिकामा रहेको झिमरुक दोभानको पक्की पुलको काम तत्कालै शुरु गर्न लागिएको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख विनोदप्रसाद सापकोटाले जानकारी दिए ।

उनले जिल्ला प्रशासन कार्यालयले अनुमति दिइसकेकाले ठेकेदार कम्पनीले काम शुरु गरेको बताए । त्यस्तै झिमरुक नदी नियन्त्रणका लागि तटबन्धनको काम पनि शुरु भएको छ ।

संक्रमणको त्रासका कारण जिल्लामा विकास निर्माणका काम प्रभावित भएपछि सामाजिक दूरी कायम गरेर महत्वपूर्ण आयोजना सञ्चालन गर्न अनुमति दिइएको प्रजिअ पन्थले बताए ।

निर्माण हुन लागेका आयोजनाको बेलाबेलामा अनुगमनसमेत गरिने जनाइएको छ ।

झिमरुक नदी तटबन्धन र सुख्खाखोला पक्की पुलको काम सम्पन्न गर्ने जिम्मा पाएको मल्लरानी आँसु जेभी कम्पनीका प्रतिनिधि बालाजु श्रेष्ठले सरकारले राम्रो निर्णय गरेको र स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर काम अगाडि बढाइएको बताए ।रासस



प्रतिक्रिया दिनुहोस !