४ जेष्ठ २०८१, शुक्रबार

कलाकारहरूले भने-‘मिडिया देख्दा बन्दुक तेर्स्याएझैँ लाग्छ’

प्रकाशित मिति :  14 July, 2023 7:05 pm


काठमाडाैँ । कलाकारहरू नेपाली पत्रकारिताको विश्वसनियता कम हुँदै गएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित नेपाली चलचित्रमा मिडियाको प्रभाव अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले नेपाली सिने क्षेत्रमा कलम चलाउनेहरूले चलचित्र क्षेत्रका खोजमुलक समाचार लेख्न सक्नुपर्ने बताए।

उनीहरूले चलचित्र क्षेत्रमा भएका विकृतिहरूका बारेमा पनि सिने पत्रकारहरूको कलम चलाउनुपर्ने बताउँदै सानो गल्तीलाई पनि मलजल गरेर ठूलो बनाइदिने परिपाटीले आत्महत्यासम्मको बाटो राज्नुपरेको कतिपय कलाकारले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले मिडिया भन्ने बित्तिकै पछिल्लो समय आफूलाई बन्दुक तेर्साएको जस्तो हुने गरेको बताइन् । उनले कतिपय सञ्चारमाध्यमहरूले सानो गल्तीलाई मलजल गरेर ठूलो बनाइदिँदा कलाकारहरू आत्महत्याको बाटो रोज्नुपर्ने स्थितिसम्म पुग्ने गरेको बताइन् । 

कार्यक्रममा बोल्दै अर्की अभिनेत्री केकी अधिकारीले पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनियता भएपनि पछिल्लो समय विश्वसनियतामा कमी आउने गरेको बताइन् । उनले श्रोत भनेर उल्लेख गरिएपनि कतिपय समाचार बिना श्रोत बनाइने गरेको बताइन् ।

कार्यक्रममा बोल्दै चलचित्र कलकार संघका अध्यक्ष मोहन निरौलाले  चलचित्रको समीक्षा गर्दा पूर्वाग्रही हुने गरेको बताउँदै यस्ता कुरामा यथार्थता पस्कनुपर्ने बताएका छन् । उनले महिला कलाकार र पुरुष कलाकारमाथि पनि हिंसाका घटनाहरू बढीरहेको बताए । 



प्रतिक्रिया दिनुहोस !