२२ बैशाख २०८१, शनिबार

श्रमिक रोकेकोप्रति वैदेशिक रोजगार व्यवसायी संघ र ओरेकको आपत्ति

प्रकाशित मिति :  14 July, 2023 6:53 pm


काठमाडाैँ । वैदेशिक रोजगारीको लागि कुवेत जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । 

शुक्रबार काठमाडौँमा पत्रकार सम्मलन गर्दै  संघले कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले बिना कारण रोकेको भन्दै आपत्ति जनाएको हो ।

संघले अध्यागमनले बिना कारण वैदेशिक रोजगारीमा जान लागेका १३२ जनालाई रोक लगाउनु जाहेज नभएको भन्दै व्यवसायीहरूलाई उचित क्षतीपूर्ति दिएर श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउनु पर्ने माग संघले राखेको छ ।

वैदेशिक रोजगार विभागबाट संस्थागत रुपमा प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जान लागेका श्रमिकहरूलाई अध्यागमन विभागका कर्मचारीहरूले गलत सूचना दिने,अनावश्यक दुःख दिई रोजगारीबाट वञ्चित गराउने उद्देश्यबाट प्रेरित भएर हस्तक्षेप गर्नु गलत भएको संघको ठहर छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण कामदार फर्काउने काम भएको भन्दै विभागले गलत गरेको बताए । उनले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको बताएका छन् ।

उनले सबै प्रक्रिया पूरा गरेर जान लागेका कामदारहरूलाई समेत रोकेको रोक्नु अध्यागमन विभागको गलत नियत देखिएको बताए । उनले वैदेशिक रोजगारमा जाने कामदारको मागपत्र, भिषा, उडान निश्चित भएको हवाई टिकट हेरी जाँचबुझ गरी अन्तिम स्वीकृति दिने अख्तियारी वैदेशिक अध्यागमन कार्यालयको क्षेत्राधिकार नभएर रोजगार विभागको भएको बताएका हुन्।

त्यस्तै, संघका महासचिव मेघनाथ भुर्तेलले अध्यागमनले बुधबार बेलुका कागजात शंकास्पद भनेर त्रिभुवन विमानस्थालबाट फर्काएका ९ जना पुरानै कागजातको आधारमा कुवेत गएको बताए । उनले वैदेशिक रोजगारीका लागि कुवेत उड्न लागेका ११७ जनामध्ये ८ जना महिला र १ जना पुरुष शुक्रबार बिहान गन्तव्य मुलुक पुगेको बताए ।भुर्तेलले करिव ६० हजार पर्ने टिकटसमेत नोक्शान भएको साथै अब कम्पनीले कामदार लैजान टिकट नदिने हुँदा श्रमिकलाई समस्या पर्ने बताए ।

त्यस्तै, महिला पुनःस्थापना केन्द्र (ओरेक) ले पनि वैदेशिक रोजगारीको लागि कुवेत जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति बिरोध जनाएको छ । ओरेककी निमित्त कार्यकारी निर्देशक सुनिता मैनालीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरकारले रोकेर संविधानमा पाएको अधिकार खोस्ने काम गरेको बताइन् ।उनले श्रमिकहरूलाई पुगेको क्षेतीपूर्ति राज्यले दिनुपर्ने माग गरेकी छन् ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आप्रवासी महिलाहरूको हक हितको विषयमा काम गर्दै आएको संस्था हो । अध्यागमन कार्यालयले २०८० असार २४ गते जोर्डन जान लागेका १५ जना, २७ गते सलाम एयरलाईन्सबाट कुवेत जान लागेका १०१ जना र कुवेत एयरलाईन्सबाट जान लागेका १६ जना कामदारलाई रोकेको थियो।

वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई उड्न एयरपोर्ट पुगेका श्रमिकलाई अध्यागमनका कर्मचारीले अनावश्यक दुःख दिने, कानून विपरीतको गलत सूचना दिने गरेको भन्दै उनीहरूलाई कारबाही गरी फर्काइएका कामदारलाई सहजरूपमा पठाउन सहयोगका लागि वैदेशिक रोजगार व्यवसायीले सरकारको ध्यानाकर्षणसमेत गराएको छ । 



प्रतिक्रिया दिनुहोस !