४ जेष्ठ २०८१, शुक्रबार

देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्न लागे : प्रचण्ड

प्रकाशित मिति :  22 April, 2020 8:16 am


काठमाडौं, १० वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको महत्वलाई बुझ्न र अझ सुदृढ गर्न आ-आफ्नो ठाँउमा सकारात्मक पहलका लागि अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा अध्यक्ष प्रचण्डले शुभकामना दिदे भनेका छन्,‘यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’

ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको दाबी गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको स्मरण गराएका छन् ।

पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिने अध्यक्ष प्रचण्डको विश्वास छ ।

यसका लागि सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई उनले अपिल गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको भन्दै अध्यक्ष प्रचण्डले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा हार्दिक अपील समेत गरेका छन् ।

७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको छैन, अपितु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको अध्यक्ष प्रचण्डको ठहर छ ।



प्रतिक्रिया दिनुहोस !