४ जेष्ठ २०८१, शुक्रबार

खुल्ला प्रतिस्पर्धा मिचेर कालीमाटी तरकारी बजारका सटर भाडा दिएको भन्दै किसानले दिए धर्ना

प्रकाशित मिति :  24 July, 2023 3:23 pm


काठमाडौँ । काठमाडौँको कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राख्दै राष्ट्रिय किसान सञ्जालले आज (सोमबार) धर्ना दिएका छन् ।

नेपाल सरकारको स्वामित्वमा संचालनमा रहेको कालीमाटी तरकारी तथा फलफूल बजारका स्टल तथा सटरहरू विना प्रतिस्पर्धा पुरानै व्यापारीहरूलाई भाडामा दिने, नविकरण गर्ने, जस्ता कालीमाटी बजार विकास समितिले गरेकाे निर्णय आम किसान, उपभोक्ता र बजारको नियम विपरित रहेका भन्दै राष्ट्रिय किसान सञ्जालले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाे कार्यालय अघि धर्ना दिएका हुन् ।

अखिल नेपाल किसान महासंघका महसचिव बाबुराम थापाले आम किसानको खुल्ला प्रतिष्पर्धामार्फत सटरहरू भाडामा लगाउनु पर्ने माग हुदाँहुदै सिमित व्यापारीको हितमा नवीकरण गर्नु आपत्तिजनक रहेको भन्दै धर्ना दिएको बताए ।

राष्ट्रिय किसान सञ्जालका अनुसार विकास समितिले किसानहरूको आवाज र अधिकारलाई लत्याउदैँ व्यापारीको प्रभावमा परेर उक्त कार्य गरेकाे भन्दै कृषि तथा पशुपंछी विकास मन्त्रालय र कालीमाटी बजार विकास समिति विरुद्द धर्ना दिएका हुन् ।

सञ्जालले बजारका सटर र स्टलहरू खुल्ला प्रतिस्पर्धामार्फत भाडामा लगाईयोस, बिना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खरोज गर, ५० प्रतिशत स्टर र स्टलहरू उत्पादक किसानलाई छुट्याइयोस्, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर, किसान एकता जिन्दावाद, बजार विकास सिमितमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर लगायतका नारा सहित कालिमाटी तरकारी बजारमा धर्ना दिएका छन् ।

उक्त राष्ट्रिय किसान सञ्जालमा अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, नेपाल पिछडावर्ग किसान महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय कृषक समूह महासंघ, राष्ट्रिय भूमि अधिकार मञ्च, फियान नेपाल, राष्ट्रिय सिचाईं जलउपभाेक्ता महासंघ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !