४ जेष्ठ २०८१, शुक्रबार

वर्तमान सरकार विरुद्ध सबै कम्युनिष्ट, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरू ध्रुवीकृत हुन विप्लवको आव्हान

प्रकाशित मिति :  22 April, 2020 5:19 pm


????????????????????????????????????

काठमाण्डौं, १० वैशाख ।

प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान सरकारको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिष्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन आव्हान गरेका छन् ।

लेनिन जयन्ति तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आज सन्देश जारी गर्दै महासचिव विप्लवले ओली सरकारको विरुद्ध ध्रुविकृत र एकताबद्ध हुन र एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न आह्वान गरेका हुन् ।

महासचिव विप्लवले पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीको मुख्य उद्देश्य नेपालमा सामन्ती तथा दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध क्रान्ति पूरा गर्न तथा विभिन्न साम्राज्यवादी, विशेषतः भारतीय साम्राज्यवादी हस्तक्षेपबाट देशलाई स्वाधीन बनाउने र जनताको नयाँ जनवादी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने रहेको स्मरण गराएका छन् ।

विप्लवले भनेका छन्,‘परन्तु कम्युनिस्ट आन्दोलनमा घुसेका र पैदा भएका केशरजङ्ग रायमाझी, मनमोहन अधिकारी, केपी वली, पुष्पकमल दाहाल, बाबुरामजस्ता संशोधनवादी, अवसरवादी, आत्मसमर्पणवादी, विसर्जनवादी र संसद्वादीहरूका कारण बहुसङ्ख्यक नेपाली जनताको वैज्ञानिक समाजवाद प्राप्त गर्ने चाहना पूरा हुन पाएको छैन ।’

उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई ‘कथित पार्टी एकता’ भन्दै सरकारले कम्युनिस्ट नामबाट प्रतिक्रान्तिकारी सामाजिक दलाल पुँजीवादी सत्ताको रक्षार्थ क्रान्तिकारीहरूमाथि फासिवादी दमन चलाइरहेको आरोप लगाएका छन् ।

महासचिव विप्लवले केपी ओली क्रान्तिकारी, देशभक्तहरूलाई एक हुन आह्वान गर्दै दलाल पुँजीवादी राज्यसत्ता र सर्वदलीय व्यवस्थाको जाली–झेली भ्रष्ट, राष्ट्रघाती, जनघाती एवम् दलाल चरित्रमा निस्किनै नसक्ने गरी डुबेरको र बदनाम, असफल, सङ्कटग्रस्त बनेको दाबी गरेका छन् ।

उनले भनेका छन्,‘यो ऐतिहासिक पार्टी स्थापना दिवसका अवसरमा हामी जिम्मेवारीबोधका साथ केपी ओलीको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिष्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न विशेष आग्रह गर्दछौँ ।’

 



प्रतिक्रिया दिनुहोस !