८ जेष्ठ २०८१, मंगलबार

कोशी प्रदेश सरकार ढल्यो,नयाँ प्रकृया सुरु गर्न सर्वोच्च अदालतको आदेश

प्रकाशित मिति :  27 July, 2023 3:20 pm


काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।

सर्वोच्चले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । कोशीमा सभामुखको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए तर सर्वोच्चले त्यसलाई असंवैधनिक भएको ठहर गरिदिएको छ ।

सर्वोच्चले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिँदै नभए अर्को उपधारामा जान भनेको छ । सर्वोच्चको आदेश अनुसार संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनको प्रयास हुनेछ ।

कसैले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलका नेता मुख्य मन्त्री बन्ने छन् । यसका आधारमा एमालेका संसदीय दलका नेता मुख्यमन्त्री बन्नेछन् ।

असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन थियो ।

सभामुखको समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । थापाको नियुक्तविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले गरेको फैसलापछि कोशीमा नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेको छ ।



प्रतिक्रिया दिनुहोस !