७ जेष्ठ २०८१, सोमबार

निर्वाचन सम्बन्धी विधेयक संविधानको मर्म विपरित भएको भन्दै मुद्दा हाल्ने तयारी

प्रकाशित मिति :  28 July, 2023 1:41 pm


काठमाडाैं । लैंगिक तथा अल्पसंख्यक समुदायले निर्वाचन सम्बन्धी विधेयक संविधानको मर्म विपरित भएको भन्दै सार्वजनिक महत्वको मुद्दा हाल्ने भएका छन् ।

लैंगिक तथा अल्पसंख्यक समुदायले निर्वाचन सम्बन्धी विधेयक संविधानको मर्म विपरित भएको भन्दै सार्वजनिक महत्वको मुद्दा हाल्ने भएका छन् । 

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधान प्रदत्त अधिकारलाई सुनिश्चित गर्न नसकेको  उनीहरुको ठहर छ ।

निर्वाचन आयोगले सरकारलाई पठाएको निर्वाचन सम्बन्धी मस्यौदामा संविधानको बर्खिलाप हुनेगरी पुरानै व्यवस्था गरेर लैंगिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व नहुने किसिमको रहेको भन्दै सो समुदायले सार्वजनिक महत्वको मुद्दा दर्ता गर्ने तयारी गरेको हो  ।

विधेयकको मस्यौदाले लैंगिक तथा अल्पसंख्यक समुदायको समानुपातिक प्रतिनिधित्वको प्रत्याभुति गर्न नसकेको उनीहरुको आरोप छ ।

निलहिरा समाजका पूर्व अध्यक्ष एवं संविधानसभा सदस्य सुनिलबाबु पन्तले संविधानको धारा ४२ को उपधारा १ मा उल्लेख भएको लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हकलाई मस्यौदाले आत्मसाथ गर्न नसकेको बताए । उनले संविधान बिरुद्ध हुनेगरि मस्यौदा ल्याएकाले आफूहरुले सार्वजनिक महत्वको मुद्दा हाल्ने बताए ।

उनले भने ‘निर्वाचन ऐनको मस्यौदा निर्वाचन आयोगले सरकारलाई पेस गरेको छ । निर्वाचन आयोग संवैधानिक निकाय हो । यसले संविधानमा के छ, त्यसबाट निर्देशित भएर त्यसका प्रावधानहरुलाई सम्मान गर्दै न्यायपूर्ण ढंगले लेखेर पठाउनुपर्नेमा अन्यायपूर्ण तरिकाले खासगरी महिलाको प्रतिनिधित्व, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व समानुपातिक नहुने किसिमले ऐन बनाएर पठाएको छ त्यसमा आपत्ति छ ।

उनले निर्वाचन आयोग समक्ष यौनिक तथा अल्पसंख्यक समुदायको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न पटक–पटक आग्रह गरेको भएपनि बेवास्ता गरिएको बताए ।

उनले सरकारले नीति, योजना तथा कार्यक्रमहरु पितृ सत्तात्मक हुने भन्दै अब त्यसलाई ‘ब्रेक’ लगाउने चेतावनी समेत दिए ।



प्रतिक्रिया दिनुहोस !