८ जेष्ठ २०८१, मंगलबार

किसानका मुद्दालाई वेवास्ता गरेको भन्दै किसान सञ्जालद्धारा दुई घन्टा चक्काजाम

प्रकाशित मिति :  28 July, 2023 2:57 pm


काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले आज देशका विभिन्र स्थानमा दुई घन्टा चक्काजम्म कार्यक्रम गरेको छ । लम्पी स्किन रोगले किसानहरूको लाखौँको क्षति गर्दा समेत सरकारले वेवास्ता गरेको भन्दै सञ्जालले आज (शुक्रबार) दिउँसो १२ बजेदेखि २ बजेसम्म देशका विभिन्र स्थानमा चक्काजाम कार्यक्रम गरेको हो ।

अखिल किसान महासंघका महासचिव बाबुराम थापाका अनुसार कैलाली, सुर्खेत, बासगढी, दाङ, बुटवल, रुपन्देही, पोखरा, कावासोति, नवलपुर, हेटौँडा, सर्लाही, इटहरी, सुनसरी लगायत अन्य स्थानामा दुई घन्टा चक्काजाम गरेका हुन् ।

त्यस्तै कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले कालीमाटीका स्टर र स्टलहरू बिनाप्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न पनि किसान सञ्जालले माग गरेकाे छ । त्यस्तै समितिअन्तर्गत रहेका ५० प्रतिशत सटर र स्टलहरू उत्पादक किसानलाई छुट्याउनुपर्ने पनि माग उनीहरूको छ । त्यस्तै बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि हुनुपर्ने पनि उनीहरूले माग राखेका छन् ।

महासचिव थापाले देशभर फैलिएको लम्पी स्किन रोगको महामारीबाट गाईंवस्तुहरू प्रभावित हुदाँ सरकारले वेवास्ता गरेको भन्दै प्रर्दशन गरेको बताए ।

थापाले पशुधन बिमा प्रभावकारी बनाउन पनि माग गरेको बताए । “संकटको बेला किसानको सारथी बन्नुपर्ने बीमा कम्पनीहरू दुःखका रमिते बनेर बस्नु आफैंमा बीमाको अवधारणा र उद्देश्य विपरित छ।’’ थापाले भने, “बिमित किसानहरूको भुक्तानी नदिने, आलटाल गरी किसानलाई दुःख दिने र पशुधन बीमा नविकरण नगर्ने कम्पनीलाई यथाशिघ्र कारबाहीको दायरामा ल्याई कानून बमोजिम कारबाही गर्नुपर्छ।’’

सञ्जालका अनुसार यस्तो संकटपूर्ण अवस्थामा पनि सरकारले रोगको उपचार, नियन्त्रण र रोगबाट पशुवस्तुमा क्षति पुगेका किसानलाई राहत सहित पूर्नस्थपनाको प्याकेज यथाशिघ्र घोषणा गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !