प्रधानमन्त्री प्रचण्डले भने : माओवादी अहिले पार्टी जस्तो बन्न सकेन
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो ।
बैठकको सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो बन्न नसकेको गुनासो गरे । उनले भने माओवादी अझै पनि पार्टी जस्तो हुन सकेका छैन, व्यापक सुदृढीकरण जरुरी रहेको छ।
प्रचण्डले साँचो अर्थमा कम्युनिस्ट पार्टी निर्माण अभियान यो बैठकबाट थाल्ने पनि बताएका छन्।
उनले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै यसलाई अवसरमा बदल्न कमीकमजोरी स्वीकार्न डराउन नहुने पनि बताए ।
आफ्नो नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरोधी अभियान चलाएपछि जनतामा आशा र भरोसा पैदा भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
बैठकबाट रचनात्मक छलफल गरी पार्टी निर्माणको थलोका रुपमा उपयोग गर्न पनि उनले केन्द्रीय सदस्यहरुलाई आग्रह गरे।








