७ पुस २०८२, सोमबार

प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँः प्रधानमन्त्री

प्रकाशित मिति :  4 August, 2023 4:10 pm


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ।

प्रधानमन्त्रीले भने, ‘‘अहिले म प्रधानमन्त्री भएर आएको ७ महिना बितिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देशको सर्वोच्च कार्यकारी कार्यालय हो। यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्बले सिँगो देशको कार्यप्रगति र सरकारको प्रतिबिम्व झल्किन्छ। त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास हुन जरुरी छ। प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी विम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ।’’

प्रधानमन्त्रीले हरेक बर्ष लक्ष्यअनुरूपको परिणाम हासिल नहुनुको मुल कारण पत्ता नलगाई तदर्थवादी ढंगले हामीले लक्ष्य हासिल गर्न नसकिने बताए ।

उनले भने ‘‘हामीले आ–आफ्ना निकायको वार्षिक लक्ष्य निर्धारण पनि गर्छौं। लक्ष्य पूरा गर्नका लागि क्रियाकलापहरूको संयोजन गरी सूचकांक र कार्ययोजना बनाउँछौँ र कार्यसम्पादन पनि गरिरहेका छौँ। तर हामीले निर्धारण गरेका लक्ष्यअनुसारका योजनाहरूलाई किन समयमै सम्पादन गर्न सक्दैनौँ रु यो विषयमा गम्भीरतापूर्वक सोच्न जरुरी छ।’’

प्रधानमन्त्रीले प्रक्रियागत झञ्झटका कारणसमेत हामीले गरेका निर्णय तथा कार्यप्रक्रियाहरूमा ढिलाइ भएको बताए ।

एउटै फाइल महिनौँसम्म विभिन्न टेबुलहरूमा घुमिरहने अवस्था कायमै छ प्रधानमन्त्रीले भने, ‘‘एउटा विधेयक तयार भएर पनि विधेयक समितिमार्फत् मन्त्रिपरिषदमा पुग्न महिनौं लाग्ने अवस्था छ। एउटा नियमावली पारित गराउन हामीले महिनौँ लगाएका छौं। ऐन निर्माणका लागि सैद्धान्तिक स्वीकृत प्राप्त भएका विषयमा तत् निकायले विधेयक तयारीको अवस्था, विधेयक तयारी भएको भए ती कहाँ पुगेका छन् यसको तत्काल ताकेता गरी रिपोर्ट पेश गर्र्नुहोला।’’

साथै प्रधानमन्त्रीले विधेयक तयारीको सैद्धान्तिक स्वीकृतिदेखि विधेयक समितिसम्म आइपुग्ने समयावधि र यो प्रक्रियामा सहभागी हुने निकायहरूको टाइम कार्ड पनि तयार गर्न निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !