५ जेष्ठ २०८१, शनिबार

गोलभेडाको मूल्यमा ‘तीन दशकयताकै उतारचढाव’

प्रकाशित मिति :  6 August, 2023 3:43 pm


काठमाडौँ । व्यवसायीहरूले उत्पादनको कमी र भारत निर्यात भएका कारण गोलभेडाको मूल्य बढेको बताएका छन् ।

एक महिना अगाडि मात्रै नेपाली किसानहरूले उत्पादन गरेको गोलभेडाले बजार मुल्य नपाउँदा पाल्नु परेको थियो । ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरूले बताए ।

उनीहरूले पछिल्लो समय किसानहरूले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मुल्य बढेको बताए ।

केही समय पहिला नेपाल उत्पादन उच्च रहे पनि भारतमा नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको व्यवसायीहरूको भनाई थियो ।

कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्य उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन् ।

अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि मुल्यमा समस्या आउने गरेको उनको भनाई थियो ।

मगरले नेपाली बजारमा गोलभेडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात गर्दा मूल्य वृद्धि भएको बताइन् । उनले भनिन्,“ तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन हो । अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भनेको अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारण पनि हो । समयमा पानी नपर्नु तथा पछिल्लो समय भारतमा बढी पानी परेर डुब्नु पनि टमाटरको मूल्य बढेको हो ।”

अहिले नेपाली उत्पादन गोलभेडाँ करिब ७० प्रतिशत भारतमा गइरहेको छ । अघिल्लो वर्ष गोलभेडाको मुल्य प्रति क्रेड २००० सम्म थियो । भारतमा गोलभेडा गइरहेको कारण नेपाली बजारमा १४० रुपैयाँ किलोसम्म पुगेको छ ।

अहिले टनेला भन्दा बाहिरको गोलभेडा २ हजार ५०० छ भने टनेलाभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेड मूल्य छ । भारतमा पनि टनेलाभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेड गइरहेको छ ।

गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्याधिक महँगो भएको बताए । उनले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेडा मात्रै रहेको बताए ।

बजारमा तरकारीको मूल्य घटबढ नहुनका लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकिदिए मात्रै उपभोक्ताले संधै एउटै मूल्यमा तरकारी खरिद गर्न पाउँने बताए ।

उनले भने, “बजारमा तरकारीको मूल्इ घटबढ नहुनका लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकि दिए मात्रै उपभोक्ताले संधै एउटै मल्यमा तरकारी खरिद गर्न पाउँछन् ।”

तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताए । उनले नेपाली उत्पादन गोलभेडा यो वर्ष नै सडकमा फाल्नेदेखि १४० रुपैयाँसम्म मूल्य पुगेको बताए ।

कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म पुगेको उनको भनाई छ । कृषि उत्पादनमा किसानहरूको ज्ञान नभएर पनि उत्पादन कमी हुने र बजार मूल्य नपाउने जस्ता समस्या आइरहने गरेको उनले गुनासो गरे ।

श्रेष्ठले भने,“गोलभेडाको मूल्य यो वर्षको जस्तो ३० वर्ष अघि देखि कहिल्यै पनि भएको थिएन । गोलभेडा यो वर्र्ष नै यति धेरै सस्तो भयो भने किसानले मूल्य नपाएर फाल्नुपर्ने अवस्था भयो । अहिले आएर यति धेरै महँगो भएको छ ।”



प्रतिक्रिया दिनुहोस !