१२ श्रावण २०८१, शनिबार

एकीकरणपछि बनेको जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दियो

प्रकाशित मिति :  23 April, 2020 12:54 pm


काठमाडौं, ११ वैशाख । 

जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भएर बनेको

जनता समाजवादी पार्टीका नेताहरु आज निर्वाचन आयोग पुगेर नयाँ  दल दर्ताको निवेदन दिएका हुन् ।

दर्ताका लागि राष्ट्रिय जनता पार्टीका तर्फबाट शरत् सिंह भण्डारी र समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेर संयुक्त निवेदन दर्ता गराएका हुन् ।

सरकारले ल्याएको अध्यादेशका कारण पार्टी फुट्ने भएपछि हतारमा दुबै दलले हिजो बेलुकी अबेर पार्टी एकीकरणको निर्णय गरेका थिए ।

निर्वाचन आयोग पुगेका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने,‘हामीले राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएको, एकीकरण भएको जानकारी गरायौं ।

११ सय ८८ दर्ता नम्बरबाट पार्टी एकीकरण गरेको हामीले जानकारी गरायौं । बाँकी प्रकृयाहरु विधि प्रकयाहरु पुरा गरेर लकडाउनपछि बुझाउछौं ।’

गएराति अबेर दुइ दलका नेताहरुबीच पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर भएको हो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी हुने भएछ ।

एकीकृत पार्टीको झण्डा यसअघि समाजवादी पार्टीले प्रयोग गर्दै आएकोलाई प्रयोग गर्ने र चुनाव चिन्ह राष्ट्रिय जनता पार्टीको प्रयोग गर्ने सहमति भएको छ ।

समानताको आधारमा एकीकरण गर्ने सहमति भएको हो सहमतीपत्रमा उल्लेख छ । सरकारले पार्टी फुटाउन सहज हुने गरि अध्यादेश ल्याएको दुईदिनमै समाजवादी फूटेको संघारमा पुगेपछि दुइदलबीच रातारात एकीकरणको सहमति भएको हो ।

प्रतिनीधिसभामा समाजवादीको १७ र राष्ट्रिय जनता पार्टीको १७ जना सांसद छन् ।

‘प्रधानमन्त्री ओली जी नराम्रो सपना धेरै नदेख्नुस्’

दुबै दलबीच एकिरणको प्रयास चल्दै आएको थियो । यसअघि पटक पटक छलफल चलेपनि कुरो मिल्न सकेको थिएन ।

राजपाको तर्फबाट राजेन्द्र महतो र समाजवादी पार्टीको तर्फबाट राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेर एकीकरणका लागि छलफल भइरहेपनि टुंगोमा पुग्न सकेको थिएन ।

तर, सरकारले पार्टी फुट्न सजिलो हुने गरि अध्यादेश ल्याएपछि हतारमा पार्टी एकीकरणको घोषणा गरेका हुन् ।

समाजवादी पार्टीमा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा अलग पार्टी गठन गर्ने निर्णय भएपछि र राजपाभित्रपनि पार्टी फुट्ने संकेत देखेपछि दुबै दल मिल्न निर्णय गरेका हुन् ।

दल दर्ताका लागि निर्वाचन आयोग पुगेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने,‘ संघीय लोकतन्त्रा लागि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नका लागि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकृत भई जनता समाजवादी पार्टीको गठन भएको छ । त्यो निर्वाचन आयोगलाई जानकारी गराउका छौं ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम्रो सपना देख्न आग्रह गरे । उनले भने,‘ ओली जी राम्रो राम्रो सपना देख्नुस् यो टुटाउने फुटाउने सपना नदेख्नुस् नराम्रो सपना धेरै नदेख्नुस् ।’

समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले लकडाउनको बेला पार्टी एकीकरण हुनु संयोक मात्रै भएको दाबी गरे । उनले भने,‘ यो लकडाउनका बेला एकीकरण हुनु संयोगमात्रै हो तर यो प्रकृया त पहिले देखि नै हो । ’

उनले लकडाउनका कारणले एकीकरणको प्रकृया रोकिएपनि वर्तमान सरकारको लकडाउनका कारणले रोकिएको एकीकरण प्रकृया पुरा भएको बताए । तरले प्रधानमन्त्री केपी शर्मा ओलीले अपरापूर्ण कार्य गरेको श्रेष्ठको टिप्पणी थियो ।

केन्द्रीय समितिको बैठक समेत बोलाउने अवस्थामा नभएको मानिसहरु आउने सम्भावना नभएको बेला अध्यादेश ल्याएको भन्दै आश्चर्य व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !