गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौँ । गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार गृह मन्त्रालयमा मन्त्रालय र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो ।
उक्त सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रुपसागर देवीले हस्ताक्षर गरेका छन् । सहमति सँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।
घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानविन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाउने सहमती भएको हो ।
२०६३ चैत्र ७ गतेको गौर घटनामा मृत्यु भई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६५ पौष ९ गतेको बैठकबाट शहीद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने तथा घटनामा मृत्यु भएका तर शहीद घोषणा हुन छुट भएका मृतकहरुका हकमा शहीद घोषणाको प्रकृया अगाडी बढाउने सहमतीपत्रमा उल्लेख छ ।
त्यसैगरी गौर घटनामा परी मृत्यु भएका व्यक्ति (शहीद) हरुको स्मृतिमा रौतहट जिल्लामा शहीद स्मारक स्तम्भ निर्माण गर्ने कार्यको प्रक्रिया यसै आ।व।मा अगाडी बढाउने र घाइते भएका उपचाररत व्यक्तिको लागि उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने सहमती भएको छ ।








