२२ बैशाख २०८१, शनिबार

‘दुधको उत्पादन र उपलब्धता ह्वात्तै बढ्दा कच्चा दुध व्यवस्थापनमा समस्या’

प्रकाशित मिति :  13 August, 2023 5:38 pm


काठमाडौँ । नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले दुधको उत्पादन र उपलब्धता ह्वात्तै बढ्दा कच्चा दुध व्यवस्थापनमा समस्या परेको बताएका छन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै एसोसिएसन र संघले भनेका छन्,“ अहिले दूधको उत्पादन कमि हुने (लिन सिजन)मा पनि देश भरि नै दूधको उत्पादन र उपलब्धता ह्वात्तै वढेका कारण मूल्य श्रृंखलामा माग र आपूर्तिको समन्वय हुन नसक्दा कच्चा दूध व्यवस्थापनमा पर्न गएको समस्या प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

अनौपचारिक क्षेत्रले दूध खरिद नगरेको छुर्पी उत्पादनमा ह्रास आएको, भारतबाट झोल दूध, स्किम मिल्क पाउडर लगायतका दुग्धजन्य पदार्थहरू खुल्ला रुपमा चोरी पैठारी हुन गई औपचारिक क्षेत्रमा थेग्नै नसक्ने गरी दूधको आपूर्ति हुन गएको विज्ञप्तिमा उल्लेख छ ।

संघ र एसोसिएसनले यस्तो विकराल परिस्थितिमा मिल्क होलिडे हुन नदिई स्वदेशी ग्रामीण कृषकबाट उत्पादित दूधको बजार सुनिश्चित गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,“ सरकारले २०७९ फागुन १९ गते गरेको निर्णय बमोजिमा ४% फ्याट र ८% प्रतिशत एस एनएफमा कायम भएको न्युनतम् सर्मथन मूल्य भन्दा तल नगई सबै उद्योगले आफूलाई आवश्यक भन्दा वढि दूध समेत संकलन गरी बाँच र बचाउको नीति अवलम्बन गरी दूधको उत्पादन वृद्धिमा लागेका ग्रामिण कृषकहरुको आत्मवल उच्च बनाई राख्न सबै सरोकारवाला डेरी उद्योगहरुमा हार्दिक अनुरोध गरिन्छ ।”

किसान तथा उद्यमीलाई यस व्यवसायमा टिकाई राख्न सिमापारीबाट अवैध रुपमा भित्रिने झोल दूध, स्किम मिल्क पाउडर, मख्खन, घिउ लगायत दुग्धजन्य पदार्थहरूको चोरी पठारी नियन्त्रण गर्न पनि एसोसिएसन र संघले माग गरेका छन् ।

दुबै संस्थाको विज्ञप्तिमा देश भरि नै फैलिएको लम्पी स्किन रोगका कारण किसानको अर्वौको क्षति भोग्नु परेको भन्दै यसको रोकथाम, सक्रमिक पशुको उपचार र रोगका कारण मृत्यु भएका पशुको पुर्नःस्थापनाको तत्काल आवश्यक कार्य गर्न नेपाल सरकार माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !