पूर्वसभामुख महराले भने,‘९ किलो सुन प्रकरणबारे अनुसन्धानमा सघाउन तयार छु’
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् ।
दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन आफू तयार रहको बताएका हुन् । उनले भने,“अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु तर बेलाउँदैनन् त के गर्नु ?”
इलेक्ट्रिक चुरोटमा सुन लुकाएर ल्याएका व्यक्तिसँग फोन सम्पर्क देखिएको भन्दै महरामाथि प्रश्न उठिरहेको छ । उनले भने यो विषय अस्वीकार गर्दै आएका छन् ।
महराले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको र अन्य विषयमा आफूलाई जानकारी नभएको बताए । सुन प्रकरणमा आफूलाई मुछेर आएको समाचार गलत भएको बताए ।
चिनियाँ नागरिक वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेकाले सहयो गरेको बताए ।
उनले भने,“ सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरूलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो ।” यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार भएको महराको भनाई थियो ।








