२२ बैशाख २०८१, शनिबार

चीनका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल

प्रकाशित मिति :  22 August, 2023 1:12 pm


काठमाडौँ । पूर्वी चीनको जियाङ्सी प्रान्तका किसानले काटेको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन् ।रेटुन विधि अपनाएर एक पटक रोपेको धानबाट २ पटक उत्पादन लिन सकिने बताइएको हो । किसानहरूले परम्परागत रूपमा ऊखु र केरामा यो विधि अपनाएको पाइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ ।

विज्ञहरूकाअनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको पराल सहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ । जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणको लागि लगाइएको धान खेतमा एकपटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो ।

माटोको बनावटअनुसार फरकफरक रूपमा छनोट गरिएको खेतमा विज्ञहरूले परीक्षण गरेका थिए । पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले कृषकको समय,पैसा वचत गरेको र उत्पादन पनि दोब्बर भएको बताएका छन् ।

उनले भनेका छन्,‘रेटुन धान सिजनमा दुई पटक काट्न सकिन्छ, जसले कृषकहरूको समय र पैसाको वचत गर्छ ।’

जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल १ लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ । प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धान कर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताएका छन् ।

रेटुन एक कृषि विधि हो जसमा लगाइएको बालीमा एक पटक अन्न उत्पादन गरिसकेपछि त्यसको परालको गाँजबाट पुनः उत्पादन लिन सकिनेछ । जस्तै उखुको प्रारम्भिक उत्पादन लिएपछि पनि बाँकी रहेको भागबाट पुनः उत्पादन गरिन्छ । यसले समय र श्रमको वचत हुन्छ । यससँगै किसानले कम लागत, दक्षतावृद्धि, माटोको संरक्षण, छिटो उत्पादन र कम वातावरणीय प्रभावका साथै दिगो रुपमा भुमिको प्रयोग गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !