एकीकृत समाजवादीको दोस्रो दिनको बैठक जारी
प्रकाशित मिति : 23 August, 2023 10:53 am
काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समितिको दोस्रो दिनको बैठक शुरु भएको छ । मंगलवारबाट ललितपुरको बालकुमारीमा शुरु भएको केन्द्रिय कमिटी बैठकमा मंगलावार पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमा आज (बुधवार) छलफल जारी रहनेछ ।
पार्टीका केन्द्रिय सदस्यहरुले विभिन्न प्रतिवेदनमाथि आफ्ना धारणा राख्न शुरु गरेका छन् । बैठक आज बिहान ८ बजेबाट शुरु भएको हो । मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो ।
सोही प्रतिवेदनमा छलफल चलिरहेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्था लगायत विषय उल्लेख छ ।








