६ पुस २०८२, आइतबार

आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैन : मन्त्री बस्नेत

प्रकाशित मिति :  27 August, 2023 11:00 am


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताएका छन् ।

आइतबार वित्तीय साक्षरता टिभी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संसारभर आईटी क्षेत्रमा विकास गरेका देशहरू धेरै अघि बढिरहेको उल्लेख गरेका हुन् ।

उनले एउटा सामान्य भन्दा सामान्य सूचनादेखि लिएर महत्त्वपूर्ण सूचनाहरू एकै पटक सबैतिर छर्नुपर्ने प्रविधिको विकास हुन जरुरी रहेको बताए ।

मन्त्री बस्नेतले आधारभुत स्वास्थ्य, निःशुल्क उपचार र दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पु¥याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढीरहेको उल्लेख गरे । उनले आफू मन्त्री बनेको तीन महिनामा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे ।

उनले भने, ‘एकछिनलाई मानी लिनुस्, स्वास्थ्यकर्मीहरू दुर्गम गाउँमा पठाउन सकेनौँ, त्यहाँ एउटा सामान्य डाक्टरले कसैको सल्लाह नै लिनुपर्ने भयो, त्यहाँ सिनियर डाक्टरलाई सञ्चार वा आईटीको माध्यमबाट सम्पर्क गरेर यस्तो स्थितिमा कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।’

मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने ५ वर्ष भित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !