६ पुस २०८२, आइतबार

महराले प्रहरी महानिरीक्षकसँग भेटेर भने,‘छानबिन गर्नुपर्ने हो भने गर्नुस्,अनावश्यक तनाव भयो’

प्रकाशित मिति :  29 August, 2023 10:50 am


काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरलाई भेटेर सुनतस्करीमा आफ्नो अनावश्यक मुछिएको र छानबिन गर्नुपर्ने भए किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

स्रोतका अनुसार आइतबार महानिरीक्षक कुँवरलाई भेटेर आफूलाई अनावश्यक खेदिएको भन्दै महराले छानबिन गर्ने भए आफू तयार रहेको बताएका हुन् ।

महराले एमसीसी कार्यान्वयनको मुखमा र ६० किलो सुन प्रकरणमा ओझेलमा पार्ने गरेर आफूलाई एकहोरो खेदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । उनी निकट नेतासँग पूर्वसभामुख महराले भन्ने गरेका छन्,“ अनौठो तरिकाले एउटा पंक्ति लागिरहेको छ । मलाई खेदेर के हुने हो र ! मैले पटक पटक छानबिनका लागि सहयोग गर्ने भनेकै छु । ”

महराले प्रहरी महानिरीक्षक कुँवरसँग छानबिन गर्ने भए तत्कालै गर्न भनेका छन् । महराको भनाई उदृढ गर्दै स्रोतले भन्यो,“ उहाँले प्रहरी महानिरीक्षक कुँवरसँग भेटेर छानबिनमा सहयोग गर्ने बताउनुभएको छ । आफू संलग्न नभएको र बाहिर एकहोरो खेदिएको भन्दै छिटो टुंगो गर्न आग्रह गर्नुभएको छ । ”

महराले चिनियाँ व्यापारीसँग भेट भए पनि सुन तस्करीबारे आफूलाई जानकारी नभएको बताउँदै आएका छन् । महराले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर पनि छानबिनका लागि सघाउन तयार रहेको जानकारी गराएका छन् । केही दिने अघि सभापति देउवालाई भेटेर महराले आफ्नोबारेमा किन यसरी प्रश्न उठिरहेको भनेर प्रश्न सोधेका थिए ।

जवाफमा देउवाले त्यस्तो केही नभएको बरु बालकृष्ण खाँणलाई छुटाउनुपर्नेमा जोड दिएको स्रोतको दाबी छ । महरा माओवादी केन्द्रले सुरु गर्न लागेको तीन महिने अभियानका लागि रोल्पा जाँदै छन् ।

प्रहरी महानिरीक्षक कुँवरसँगको भेटमा आफू जतिबेला पनि छानबिनका लागि तयार रहेको र रोल्पा जान लागेको जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !