४ पुस २०८२, शुक्रबार

सरकार ढाल्न विभिन्न षड्यन्त्र जारी छ : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  29 August, 2023 11:36 am


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताएका हुन् ।

सरकार ढाल्ने कोसिस गर्नेहरू विस्तारै जनताको नजरमा गिर्दै गइरहेको प्रधानमन्त्री दाहालले बताए । कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने उनको भनाइ छ । ‘अहिले सरकारविरुद्ध विभिन्न खालका षड्यन्त्र त भइरहेका छन् । यो गठबन्धन तोड्ने सरकारलाई ढाल्ने, धेरै कसरत छन् । तर कसैको केही लाग्ने मैले देखेको छैन । जति बल गरेका छन्, त्यति उनीहरू जनताको नजरमा गिर्दै गएका छन् र यही हुन्छ । हामीले अझै गठबन्धन ५ वर्ष नै जानेछ, मैले त्यही देखेको छु, अहिलेसम्म । त्यस्तो ठूलो केही भएन भने हामी निरन्तर यो अभियानलाई सफलतातिर लानेछौँ । अहिले अतिवादी विचार र प्रवृत्तिहरू कहीँ धार्मिक त कतै जातिय, कतै माध्यमबाट यो परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न सकिन्छ की ? भन्ने कसरत छन् । त्यसमा हामी संवेदनशील छाैँ’, उनले भने ।

प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति सुरु नगर्ने हो भने देश ठूलो दुर्घटनामा जाने बताए। उनले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको बताए । उनले माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको बताए । उनले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूविरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको समेत बताए ।

‘पहिले नै हाम्रो टाउकोमा थुप्रै मुद्दा त छँदैछन् युद्धकालका मुद्दाहरु, मेरै ३६ वटा जति छन् । अझै शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएसम्म कहीँ न कहीँ रही राखेका छन् । म प्रधानमन्त्री भएर राम्रो काम शुरु गर्न थालेपछि दुई वटा मुद्दा परेका छन् । त्यो पनि देखिरहनुभएको छ । हामी एक हुने र अघि बढ्ने भएपछि थाँती छन् । हामी शक्तिशाली भएपछि यी केही हुँदैन, हामी जित्दै जान्छौँ, कसैको केही लाग्दैन । हामी कमजोर हुँदै गए आक्रमण बढ्दै जान्छन् । हामीले यो पटक यो रुपान्तरण अभियानलाई हर हालतमा सफल पार्नैपर्छ,’उनले भने ।



प्रतिक्रिया दिनुहोस !