सभापति पुनले बनाए लुम्बिनीमा सल्लाहकार समिति

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सल्लाहकार समिति गठन गरेका छन् ।
पार्टीका पुराना एवं अहिले सकृय पदमा नभएका नेताहरूलाई समावेश गरेर सभापति पुनले सल्लाहकार समिति गठन गरेका हुन् । पहिले पार्टीको मुख्य भूमिकामा रहेका तर पछिल्लो समय बाहिर रहेका नेताहरूलाई सल्लाहकार समितिमा समावेश गरिएको छ ।
उनले भने,“ उहाँहरूबाट सल्लाह, सुझाव एवम् सांगठनिक अनुभव आदानप्रदानमा सहयोग हुने विश्वासले समिति गठन गरिएको हो ।”
पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिनसकेमा पार्टी थप चलायमान हुने सभापति पुनको विश्वास छ ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति राज्यका विशिष्ट ओहदामा पुगेका पूर्व प्रशासकहरू र विभिन्न विषयका विज्ञहरूलाई जिल्ला तहको सिफारिसको आधारमा मनोनयन गरिएको कांग्रेस लुम्बिनीले बताएको छ ।
सामाजिक रुपान्तरण, स्रोत साधनको परिचालन, खोज, अनुसन्धान एवम् नीति निर्माणका क्षेत्रमा सल्लाहकारहरूलाई सक्रिय बनाइने सभापति पुनको तयारी छ ।


