कोशी सरकारविरुद्ध परेको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट पूर्ण इजलासमा पेश गर्न आदेश गरेको छ ।
सभाध्यक्षको प्रयोग गरेर असंवैधानिकरूपमा विश्वासको मत लिएको जिकिरसहित दायर रिटको पूर्ण सुनुवाइ सोमबार गर्ने गरी सर्वोच्चले आदेश दिएको छ ।
आइतबार सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालले जटिल कानुनु प्रश्न समावेश भन्दै समाधानको लागि पूर्ण इजलासमा लैजान आदेश जारी गरिएको हो ।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए । सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।
कोशीका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भूमिकामा रहेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीको समेत मत लिएर विश्वासको मत पाएका थिए । तर सभाध्यक्षले विश्वासको मत दिनु असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।








