६ पुस २०८२, आइतबार

विद्यमान ऐन नियममा सुधारसहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन

प्रकाशित मिति :  5 September, 2023 4:20 pm


काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फछ्र्यौट, विद्यामान ऐन नियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिएका हुन् । सभापति पोखरेलले समितिको अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फछ्र्यौट, विद्यामान ऐन नियममा सुधार र प्रतिबद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिए । उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्न गरी बनाउन आग्रह गरे ।

सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरू र पेसा व्यवसाय मिल्ने सांसदहरूलाई नराख्न आग्रह गरे । उनले समितिका २७ जना सांसदहरूले काममा गति दिनसके मात्रै समितिको काम प्रभावकारी हुनसक्ने बताए । उनले समितिले गर्ने निर्णयहरूमा सर्वसहमति गर्ने प्रयास गर्ने बताए । उनले समितिले तत्काल बेरुजु,महालेखा र लेखा उतरदायीहरूको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरू र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिवार्य आवश्यकता रहेको बताए ।

सभापति पोखरेलले समितिले तत्काल बेरुजु लगायतका विषयमा उपसमितिहरू बनाएर काम अगाडि बढाउने बताए । उनले समितिमा पर्ने उजुरीहरूको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरूले अध्ययन गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !