५ जेष्ठ २०८१, शनिबार

गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  7 September, 2023 3:25 pm


काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तरकारीको विषादी परीक्षण गर्दै आएको गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकपछि बोल्दै उपसचिव शिवदत्त बरालले समितिले केरा खेतीको उत्पादन तथा संवर्द्धन गर्न सम्बन्धमा आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।

समितिले बाँदर, बँदेल र निल गाई जस्ता जंगली जनावरले कृषि बालीमा क्षति पु¥याउने र किसानहरुलाई पर्न गएको मर्काको क्षतिपूर्ति उपलब्ध गराउने कार्य प्रभावकारी गर्न र यसको दीर्घकालीन रुपमा समस्या समाधान गर्न आवश्यक पहल गर्ने सम्बन्धमा वन, तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै नेपाल सरकारको कोदो खेतीको उत्पादन तथा प्रवर्द्धन गर्ने सन्दर्भमा के कस्ता कार्यक्रमहरु रहेका छन् सो सम्बन्धमा कृषि मन्त्रालयसँग विवरण माग गर्ने निर्णय गरेको छ ।

समितिले हालसम्म गरेका निर्देशन र निर्णयहरु कार्यान्वयनको अवस्थाको प्रगति विवरण सात दिन भित्रमा माग गर्ने, नेपालको पहाडी तथा तराईका क्षेत्रमा उत्पादन हुने गाँजा खेती बहुउपयोगी रहेकोले उत्पादन, प्रशोधन र बिक्री वितरण गर्ने कार्यलाई वैधानिक बनाउने सम्बन्धमा सम्बन्धित निकायसँग थप छलफल गर्ने र भूमि आयोगबाट सम्पादन हुने कार्यका सम्बन्धमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष लगायतका पदाधिकारी र भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेको छ ।

बरालले कार्बन व्यापार र जलवायु परिवर्तनको नीतिगत कानुन र संस्थागत तथा कार्यगत व्यवस्थाका सम्बन्धमा रहेका विषयहरु सम्बन्धित निकायसँग लिखित रुपमा माग गर्ने निर्णय गरेको बताए ।

बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न समिति सभापति डा। आरजु राणाको नेतृत्वमा अनिशा नेपाली, अम्मरबहादुर थापा, विनीता कठायत, सूर्यकुमारी श्रेष्ठ, रुपा सोसी चौधरी र उपसचिव शिवदत्त बराल बंगलादेश जाने निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस !