७ जेष्ठ २०८१, सोमबार

काठमाण्डौं प्रहरीद्धारा सांसद बस्नेत र श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक खनाल विरुद्ध मुद्धा दर्ता गर्न अस्वीकार

प्रकाशित मिति :  26 April, 2020 5:12 pm


मुद्धा दर्ता गर्न गएका जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतका नेता काठमाण्डौं प्रहरी परिसर टेकुमा

काठमाण्डौं, १४ वैशाख ।

पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसद् महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध मुद्धा दर्ता गर्न काठमाण्डौं प्रहरीले अस्वीकार गरेको छ ।

महानगरीय  प्रहरी परिसर टेकुले घटना भएको जिल्ला महोत्तरीमा गएर मुद्धा दर्ता गर्न भन्दै जाहेरी लिन अस्वीकार गरेको हो ।

तर,जनता समाजवादी पार्टीले भने विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा इन्कार गरिएको भन्दै आपत्ति जनाएको छ ।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मुद्धा दर्ता नभएपछि पत्रकारहरुसँग कुरा गर्दै राज्य नै अपराधीकरणको बाटोमा लागिसकेपछि लोकतन्त्र र नागरिकको जीवन रक्षामाथी प्रश्न उठेको बताए ।

उनले भनेका छन्,‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

मुद्धा दर्ता गर्नका लागि जनता समाजवादी पार्टीका शिर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो तथा अपहणमा परेका भनिएका पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव लगायत महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

तर, प्रहरीले मुद्धा दर्ता गर्न अस्वीकार गरेको छ । खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा वैशाख १० गते महोत्तरी पुगेर सांसद् यादवलाई काठमाडौं ल्याएका थिए ।

समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको आरोप लगाएका छन् ।

अर्को दिन विहान सांसद् यादव काठमाण्डौंको होटेल मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगेका थिए । उनले सार्वजनिक रुपमै आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

तर खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् । काठमाण्डौं प्रहरीले मुद्धा दर्ता नगरेपछि उनीहरु फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !