प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छ :ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।
अध्यक्ष ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरूलाई समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए ।
मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले धरै प्रकारका खतराहरूबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको पनि स्पष्ट परे ।
ओलीले संविधान निर्माणमा सुवास नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।
उनले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उहाँको स्मरणमा आफ्नो पार्टीले ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताए ।
अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गरे ।