१२ श्रावण २०८१, शनिबार

संसदले अभिभावक गुमायो : ओनसरी घर्ती

प्रकाशित मिति :  19 September, 2023 5:03 pm


काठमाडौँ । पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व सुवासचन्द्र नेम्वाङलाई संसदले गुमाएको बताएकी छन् ।

मंगलवार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सुवास नेम्वाङ र संविधान विषयक कार्यक्रममा बोल्दै उनले स्व।नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उनी संसदको अभिभावक भएको बताइन् ।

उनले नेम्वाङलाई समन्वयकारी, सजिलै पहुँच राख्न सक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने र असल नेताको रूपमा स्मरण गरिन् । उनले देशको लागि नेम्वाङको निधनले ठूलो क्षति पुगेको बताइन् । घर्तीले स्व। नेम्वाङ संविधान सभाको सफल अध्यक्ष भएको बताइन् ।

उनले भनिन्, ‘आज हामीले एक अभिभावक गुमाएका छौँ संसदको लागि । संसद चलाउनका लागि आजको परिस्थितिलाई सम्हाल्नका लागि, आजको संकटलाई सजिलै सहजीकरण गर्नका लागि संसदले अभिभावक नै गुमाएको छ । साथै एक समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता पनि देशले गुमाएको छ । यो पनि हाम्रो ठूलो क्षति हो । आफू उहाँ पदीय मर्यादामा रहँदा पदीय मर्यादा कहिल्यै पनि भुल्नुभएन । उहाँ संविधान सभाको सफल अध्यक्ष हुनुहुन्छ । हामी सबैले सम्झिरहन्छाैँ ।’

पूर्वसभामुख घर्तीले राजनीतिक वृत्तमा उनले खेलेको मध्यस्थकर्ताको भूमिका राज्यले सधैँ सम्झिरहने बताइन् ।



प्रतिक्रिया दिनुहोस !