५ जेष्ठ २०८१, शनिबार

राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल

प्रकाशित मिति :  19 September, 2023 5:48 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताए । उनले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रूपमा मानेको नेता भएको बताए ।

पौडेलले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको स्मरण गरे । उनले प्रतिक सहितको गणेशमान पार्कले उनको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्‍याउने विश्वास लिएको बताए । राष्ट्रपति पौडेलले गणेशमानको साथ र सामिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गरे । उनले गणेशमानको सामिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताए ।

पौडेलले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाएको बाटोमा हिँड्नसक्नु उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । उनले गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवन शैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने बताए । उनले गणेशमान पार्कलाई नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न आग्रह गरे ।

राष्ट्रपति पौडेलले भक्तपुरबासीको लागि गणेशमान सिंहको प्रतिक र पार्क स्थापना गर्नु भाग्यको कुरा भएको बताए । उनले गणेशमान सिंह पार्कले भक्तपुरको भाग्य कोर्न मद्दत गर्ने बताए । उनले पार्कले भक्तपुरको पर्यटन विकासलाई महत्वपूर्ण योगदान गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !